केन्द्रको सहमति र अध्यक्षको निर्देशन अक्षरशः कार्यान्वयन हुन्छ : शेरधन राई

खबर बुक
  • ख-
  • ख+

नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार सञ्चालनका विषयमा केन्द्रमा भएको सहमति र पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अक्षरशः कार्यान्वयन हुने बताएका छन्।

कोशी प्रदेश सरकार र पार्टीभित्र देखिएको विवादबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राईले आफूविरुद्ध फैलाइएका हल्ला निराधार भएको बताएका हुन्।

कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार परिवर्तन गर्न आफू सक्रिय रहेको आरोपलाई उनले अस्वीकार गर्दै त्यसलाई अफवाहको संज्ञा दिएका छन्। उनका अनुसार गत साउन ९ गते एमाले र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार सञ्चालन र नेतृत्वका विषयमा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्नु दुवै दलको दायित्व हो।

राईले उक्त सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष ओलीले आफू, प्रदेश कमिटी र मुख्यमन्त्रीलाई स्पष्ट निर्देशन दिएको उल्लेख गरेका छन्।

उनले सहमति कार्यान्वयनका क्रममा केही प्राविधिक तथा आन्तरिक समस्या देखिएको स्वीकार गर्दै त्यसलाई आन्तरिक रूपमै समाधान गर्नुपर्ने विषय भएको बताएका छन्।

राईले लेखेका छन्, “सहमति कार्यान्वयन गर्ने क्रममा केही गाँठो परेको सत्य हो। तर त्यो बाहिर ल्याउने विषय थिएन। मुख्यमन्त्रीज्यूले अध्यक्षलाई भेटेर गाँठो फुकाउने जिम्मा लिन्छु भन्नुभएको हो र अध्यक्षको निर्देशनपछि त्यो समाधान हुनेछ भन्ने पार्टीको अपेक्षा छ।”

पार्टी अध्यक्ष ओलीले गुण्डुमा प्रदेश इन्चार्ज र पदाधिकारीलाई बोलाएर छलफल गरेको भन्ने चर्चा पनि उनले खण्डन गरेका छन्। अन्य कामका सिलसिलामा काठमाडौं पुगेका बेला अध्यक्षसँग भेट भएको र मुख्यमन्त्रीको उपस्थितिमै छलफल भएको उनको भनाइ छ।

मुख्यमन्त्री परिवर्तन आफ्नो व्यक्तिगत चाहना भएको वा आफूले हस्ताक्षर अभियान चलाएको भन्ने आरोपलाई राईले “वाहियात हल्ला र सफेद झूट” को संज्ञा दिएका छन्।

उनले पार्टीको नीति, विधि र पद्धतिअनुसार मात्रै काम गर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थका लागि राजनीति नगरेको बताएका छन्।

राईले आफू कोशी प्रदेशको संस्थापक मुख्यमन्त्री हुँदा पनि पार्टीको निर्देशन प्राप्त हुनासाथ जिम्मेवारी सहज रूपमा हस्तान्तरण गरेको स्मरण गराउँदै पार्टी निर्णयप्रति सधैं प्रतिबद्ध रहेको बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्