काठमाडौं। प्रतिनिधिसभा कार्यसम्पादन समितिको बैठकमा सांसदहरूको पोशाक र संसदमा प्रस्तुत हुने शैलीबारे बहस भएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा जाँदा कालो चस्मा नलगाउन सांसदहरूलाई आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले आफ्नै दलका सांसदहरूको तडकभडकपूर्ण उपस्थितिलाई व्यवस्थापन गर्न कठिन भइरहेको भन्दै सभामुखले नै ड्रेस कोड तय गर्नुपर्ने सुझाव दिएका थिए।
उनले केही सांसदहरू जिन्स पाइन्ट, चप्पललगायत अनौपचारिक पोशाकमा संसद बैठकमा आउने गरेको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए।
बुर्लाकोटीको सुझावपछि सभामुख अर्यालले संसदमा कालो चस्मा लगाएर जाने विषय पनि रोक्नुपर्ने प्रस्ताव राखेका थिए।
बैठकमा सहभागी अधिकांश प्रमुख सचेतक र सचेतकहरूले सभामुखको प्रस्तावलाई समर्थन गरेका थिए। तर, नेपाली कांग्रेसकी सचेतक बासना थापाले भने नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै फरक धारणा राखिन्।
उनले भनिन्, “सबै माननीयज्यूले मान्नुभएको प्रस्ताव म अस्वीकार गर्दिनँ। तर सबैभन्दा पहिला सम्माननीय प्रधानमन्त्री र मन्त्रीज्यूहरूबाटै यो काम सुरु गरौँ। उहाँहरूले सदनमा आउँदा चस्मा नलगाउने हो भने हामी पनि नलगाउँला।”
बासनाले नियम सांसदलाई मात्र नभई प्रधानमन्त्री र मन्त्रीहरूमा पनि समान रूपमा लागू हुनुपर्ने बताइन्।
“प्रधानमन्त्री र मन्त्रीज्यूहरू पनि यही संसदका सदस्य हुनुहुन्छ। नियम उहाँहरूबाट सुरु गरौँ,” उनले भनिन्।
सभामुख अर्यालले नियम सबैका लागि बराबर हुने स्पष्ट पारे। तर प्रधानमन्त्री र मन्त्रीहरूलाई कालो चस्मा लगाउन बन्देज लगाउने विषयमा भने उनले स्पष्ट प्रतिबद्धता जनाएनन्।
सभामुखको भनाइअनुसार सबै राजनीतिक दलहरूले आफ्ना सांसदहरूलाई संसदको लोगो लगाउन र मर्यादित पोशाकमा उपस्थित हुन आग्रह गर्नुपर्नेछ। आँखा सम्बन्धी समस्या भएका व्यक्तिले भने चस्मा प्रयोग गर्न सक्ने उनले बताएका छन्।
कांग्रेस सचेतक बासना थापाले आफूलाई कालो चस्मा नलगाई संसद बैठकमा सहभागी हुन कुनै समस्या नभएको बताइन्। उनले समाजले सांसदहरूलाई अनुशरण गर्ने भएकाले मर्यादित व्यवहार आवश्यक रहेको बताउँदै नियमको सुरुवात नेतृत्व तहबाट हुनुपर्ने दोहोर्याइन्।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह भने यसअघिका संसद बैठकहरूमा कालो चस्मा लगाएर सहभागी हुँदै आएका छन्। उनी मन्त्रिपरिषद् बैठकमा समेत कहिलेकाहीँ कालो चस्मा र अनौपचारिक पोशाकमा देखिँदै आएका छन्।
प्रधानमन्त्री शाह अहिलेसम्म चार पटक संसद बैठकमा सहभागी भएका छन्। ती बैठकमा उनले औपचारिक पोशाक नलगाएको भन्दै पनि चर्चा हुने गरेको छ।











