काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै माफी मागेका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले निर्मला पन्त हत्याकाण्डबारे प्रश्न नगर्न भन्दै रोष्ट्रमबाटै असन्तुष्टि जनाएका थिए।
उक्त अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरुङले केहीबेरपछि नै राष्ट्रिय सभा बैठकमै आफ्नो भनाइप्रति क्षमा मागेका हुन्।
सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ। सिक्दै जानेछौं। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु।”
विपद् व्यवस्थापनसम्बन्धी छलफल भइरहेका बेला निर्मला पन्त हत्याकाण्डको विषय उठेपछि आफ्नो प्रतिक्रिया केही रुखो भएको उनको भनाइ थियो।
उनले भने, “हामी विपद् व्यवस्थापनको विषयमा छलफल गर्दै थियौं। तर विषय केन्द्रित नभई विपद् व्यवस्थापनसँग निर्मला पन्त हत्याकाण्ड जोडियो। निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के हो भन्ने विषयमा मैले कुरा उठाएको हुँ।”
गृहमन्त्री गुरुङले संसद्मा उठाइने विषयमा विषयकेन्द्रित भएर छलफल गर्नुपर्ने धारणा राखे।










