विश्वको भूराजनीतिक परिवर्तनको असर नेपालमा अझ बढी परेको छ : प्रचण्ड

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वको भूराजनीतिमा आएको परिवर्तनको असर नेपालमा अझ बढी परेको दाबी गरेका छन् ।

पार्टीको दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल पनि भूराजनीतिक चलखेल र विश्व परिस्थितिमा आएको परिवर्तनको प्रभावबाट अछुतो नरहेको बताएका हुन् ।

‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौँ,’ उनले भने ।

विगतमा देशमा भएका परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा अझ गम्भीर, संवेदनशील र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

उनले आफ्नो पार्टीले सबै जनताको सार्वभौमिकता तथा उत्पीडित वर्ग र समुदायको हकअधिकारका लागि त्याग, तपस्या र बलिदान गर्दै युगान्तकारी उपलब्धि हासिल गर्न भूमिका खेलेको दाबी गरे ।

‘त्यो नाताले अहिले विश्वमा देखिएको नयाँ भूराजनीतिक चलखेल, भूमरी र त्यसको असरबाट नेपालको राजनीतिमा पनि देखा परेको असाधारण परिस्थितिप्रति सबैभन्दा बढी गम्भीर, संवेदनशील र जिम्मेवार छौँ भन्ने हामीले महसुस गरेका छौँ,’ प्रचण्डले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्