एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीबारे मन्त्रालयमा सिधै गुनासो गर्न आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनलाई तीव्र बनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिमा समस्या देखिए तत्काल जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास नपाए वा कृत्रिम अभाव सिर्जना गरिएको पाइए ९८५१११६७७३ नम्बरमा सम्पर्क गरेर जानकारी गराउन अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार उपभोक्ताबाट प्राप्त गुनासो र सूचनालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गरिनेछ।

पछिल्ला करिब २० दिनदेखि ग्यास आपूर्ति असहज बनेपछि उपभोक्ता डिपोमा घण्टौं लाइन बस्न बाध्य छन्। कतिपय स्थानमा उपभोक्ताले रित्तो सिलिन्डर लिएरै फर्किनुपर्ने अवस्था रहेको छ।

यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य असुल्ने गरेको गुनासो बढेपछि मन्त्रालयले सचिवालयमार्फत सिधै उजुरी गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्