काठमाडौँ- केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण धेरै स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।
पूर्ण रूपमा अवरुद्ध भएका मुख्य सडकहरू :
१. पृथ्वी राजमार्ग : चितवनको इच्छाकामना गाउँपालिका ५ मा आज बिहान ५:३५ बजे पहिरो खसेका कारण यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
२. अरनिको राजमार्ग : सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रका चारकिलो, कोदारी र लिपिङमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
३. कान्ति लोकपथ : ललितपुरको बागमती गाउँपालिका ३ पाण्डुर र मकवानपुरको ठिंगन खण्डमा पहिरोका कारण आवतजावत ठप्प छ। मकवानपुर खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
४. मेची राजमार्ग : ईलामको राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
५. बीपी राजमार्ग : सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा राति १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
६. मध्य पहाडी लोकमार्ग : पूर्वी रुकुमको भुमे गाउँपालिकामा पहिरोका कारण सडक अवरुद्ध छ।
७. कालीगण्डकी कोरिडोर : बागलुङको बेलबगर र पाल्पाको निस्दी क्षेत्रमा पहिरो र बाढीका कारण सडक बन्द छ।
८. कर्णालीका सडकहरू : भेरी कोरिडोर ९रुकुम पश्चिम०, नाग्म(गमगढी सडक ९मुगु० र नाग्म सडक खण्ड ९जुम्ला० मा बाढी र पहिरोले गर्दा सवारी साधन चल्न सकेका छैनन्।
एकतर्फी सञ्चालनमा रहेका सडकहरू :
काठमाडौँ-सितापाइला-धार्के सडक खण्डको नागार्जुन ८ ठुलो खोलामा पहिरो पन्छाएर एकतर्फी सुचारु गरिएको छ।
मनाङ र मुस्ताङ : चामे-बेँसिशहर र बेनी-जोमसोम सडक खण्डका केही स्थानमा पहिरोका कारण एकतर्फी मात्र सवारी चलिरहेका छन्।
भोजपुर: मध्य पहाडी लोकमार्गको बोखिम क्षेत्रमा एकतर्फी सुचारु छ।
रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु-रामेछाप राजमार्ग पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। दोलखामा भने वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको छ। लगातारको वर्षाले गर्दा सडकहरू जुनसुकै बेला अवरुद्ध हुन सक्ने भएकाले लामो दूरीको यात्रा तय गर्नुअघि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा नेपाल प्रहरीको आधिकारिक बुलेटिन हेर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।










