भारतमा पक्राउ परेका सर्लाहीका दुई किसानलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । भारतबाट मल ल्याउने क्रममा पक्राउ परेका सर्लाहीका दुई किसानलाई धरौटीमा रिहा गर्न भारतीय अदालतले आदेश दिएको छ।

सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई बुधबार धरौटीमा छाड्न अदालतले आदेश दिएको उनीहरूका परिवारले जानकारी दिएका छन्।

सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार अदालतको आदेश आए पनि आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनीहरू बिहीबार मात्र रिहा हुनेछन्।

‘धरौटीमा छाड्न आदेश आएको छ। भारतको आधार कार्ड भएका दुई जना साक्षी बसेपछि भोलि (बिहीबार) उहाँहरू छुट्नुहुन्छ,’ अविनाशले बताए।

दुवै जना १७ असारमा भारतको सीतामढी जिल्लास्थित सोनबर्षा क्षेत्रबाट पक्राउ परेका थिए। त्यसको भोलिपल्ट १८ असारमा उनीहरूलाई जेल चलान गरिएको थियो।

उनीहरूको रिहाइसम्बन्धी निवेदनमाथि १५ साउनमा सुनुवाइ हुने तय भए पनि न्यायाधीश बिदामा रहेकाले सुनुवाइ स्थगित भएको थियो। बुधबार उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सुरेशप्रसाद र नागेन्द्रप्रसादलाई डीएपी र युरिया मल लिएर नेपाल फर्कने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्