नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको मोडुलर आईसीयू उद्घाटन

खबर बुक
  • ख-
  • ख
  • ख+

२९ असोज, काठमाडौं भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको मोडुलर आईसीयू (सघन उपचार कक्ष) उद्घाटन गरिएको छ। नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले आधुनिक सुविधासहितको आईसीयूको उद्घाटन गरेका हुन्।

आईसीयू उद्घाटनपछि नगर प्रमुख श्रेष्ठले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको बताए। अस्पतालमा थपिएको मोडुलर आईसीयूलाई नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी र सेवाविस्तारको उपलब्धिका रूपमा लिन सकिने उनको भनाइ थियो।

क्लिनिकबाट सेवा सुरु गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल अहिले नगर अस्पतालमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएको र स्वास्थ्य बीमाबापत बढी रकम दाबी गर्ने अस्पतालमध्ये उत्कृष्ट पाँचभित्र रहेको नगर प्रमुख श्रेष्ठले दाबी गरे।

कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरवासीको स्वास्थ्य सेवामा पहुँच सहज बनाउन नगरपालिका सफल हुँदै गएको बताए। उनका अनुसार अस्पताल भक्तपुर जिल्लामा मात्र सीमित नभई देशभरका नागरिकको भरोसाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत अञ्जना खड्काले अस्पतालमा थपिएको मोडुलर आईसीयू सेवाले नागरिकलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउन सहयोग पुग्ने बताइन्। उनले जनस्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा मध्यपुर थिमि नगरपालिका अग्रणी भूमिकामा रहेको पनि उल्लेख गरिन्।

अस्पतालका कार्यकारी निर्देशक डा. दीपेन्द्रकुमार रोशनले अस्पतालको भौतिक पूर्वाधार र स्वास्थ्य सेवालाई बिरामीमैत्री बनाउँदै लगिएको बताए। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अस्पताल प्रशासनले सेवा प्रवाह गरिरहेको उनको भनाइ थियो।

२४ सै घण्टा आकस्मिक तथा सघन उपचार सेवा प्रदान गर्दै आएको अस्पतालको नयाँ तथा आधुनिक भवन निर्माणाधीन अवस्थामा छ। उक्त भवन सञ्चालनमा आएपछि दैनिक दुई हजारसम्म बिरामीको चाप व्यवस्थापन गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ। हाल अस्पतालमा दैनिक एक हजार दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

अस्पतालले बिरामीलाई औषधि उपलब्ध गराउने प्रक्रियालाई सहज बनाउन सरकारले निःशुल्क उपलब्ध गराउने औषधि र खरिद गर्नुपर्ने औषधिका लागि छुट्टाछुट्टै व्यवस्था गरेको जनाएको छ। उपचारका क्रममा आवश्यक औषधि खरिद गर्न बिरामीका आफन्तले अनावश्यक सास्ती बेहोर्न नपरोस् भन्ने उद्देश्यले यस्तो नीति अवलम्बन गरिएको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालमा ब्लड बैंकसमेत स्थापना गरिएको छ। त्यस्तै, सिटी स्क्यान, डायलासिसलगायतका सेवा पनि सञ्चालनमा रहेका छन्।

१५ शैयाको मोडुलर आईसीयू थपिएसँगै अस्पतालको सघन उपचार सेवा विस्तार हुनुका साथै जटिल अवस्थाका बिरामीलाई उपचार उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्