नयाँ सवारी लाइसेन्स वितरण र नवीकरणको काम रोकियो, सेवाग्राही मर्कामा

खबर बुक
  • ख-
  • ख+

जनकपुरधाम । मधेस प्रदेश मातहतको यातायात व्यवस्था कार्यालय जनकपुर, धनुषाले नयाँ सवारी चालक अनुमति पत्र वितरण र नवीकरणको काम ३ साता यता रोकेको छ ।

कार्यालयका अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालित सर्भरमा समस्या भएकाले काम प्रभावित भएको हो । सर्भरको समस्या केन्द्रबाटै समाधान नहुँदा असार २९ गते देखि नयाँ लाइसेन्स वितरणको प्रक्रिया रोकिएको कार्यालयले जनाएको छ ।

नयाँ लाइसेन्स वितरण गर्न नसक्दा कार्यालयले अहिले सवारी करमात्र लिने काम गर्दै आएको छ । कार्यालयका अनुसार यो प्रक्रिया अवरुद्ध नभएको भए अहिले सम्म ४/५ लट लाइसेन्स वितरण भइसक्थ्यो ।

यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वासुदेव मल्लले विभागमा रहेको सर्भरबाट प्रदेश अन्तर्गतका डाटा सार्ने र नयाँ सर्भर राख्ने काम भइरहेकाले अहिले नयाँ सवारी अनुमति पत्र वितरण गर्न नसकेको बताए । उनले भने, ‘साउन १ गतेदेखि प्रदेशको श्रम तथा यातायात मन्त्रालयले केन्द्रको समन्वयमा नयाँ सफ्टवेयर बनाउन सुरु गरेको छ र विभागको सर्भर पनि मर्मतसम्भारमा रहेकाले अहिले नयाँ सवारी अनुमति पत्र दिन सकेका छैनौँ ।’

आफूले यो समस्या समाधानका लागि धेरै पहल गरे पनि प्राविधिकबाट हुने भएकाले केही समय लागेको हुन सक्ने मल्लको भनाइ छ ।

कार्यालयले नयाँ सवारी अनुमतिपत्रका लागि लिखित परीक्षा र ट्रायल उत्तीर्ण भएकाहरूलाई सवारी अनुमति पत्र प्रदान गर्दै आएको छ । कार्यालय स्रोतका अनुसार यातायात व्यवस्था विभागमा प्रदेशको यातायात कार्यालयको समस्या समाधान गर्न समन्वयकर्ताको अभावले गर्दा पनि समय लाग्ने गरेको छ ।

‘नयाँ लाइसेन्सको प्रक्रिया, सवारी नवीकरण, सवारी अनुमतिपत्र नवीकरण लगायतका अधिकांश काम अहिले डिजिटली नै गर्नुपर्ने हुन्छ,’ कार्यालय प्रमुख मल्लले रातोपाटीसँग भने, ‘बारम्बार यसमै समस्या उत्पन्न हुँदा सेवाग्राहीको हप्कीदप्की सुन्न बाध्य हुनुपर्छ । अझ त्यसमा पनि यो सरकार आएपछि सर्वसाधारणको मानसिकता कति फेरिएको छ भने प्रक्रिया पनि बुझ्न मान्दैनन्, गालीगलौज गर्दैै तुरुन्तका तुरुन्त काम गर्न भन्छन् ।’

कार्यालयका कर्मचारीहरूले विगतमा कोशी प्रदेशको यातायात र लाइसेन्सको डाटा यहाँ देखाउने र यहाँको डाटा कर्णालीमा देखाउने समस्या उत्पन्न हुने गरेको सुनाए । विभागले प्रदेशगत संरचना मिलाउन नसक्दा कैयौँ दिन कार्यालयको काम प्रभावित भएको उनीहरूको भोगाइ छ । १८/२० दिनदेखि नयाँ लाइसेन्स वितरणसँगै नवीकरणको प्रक्रिया रोकिएपछि सेवाग्राही झनै मारमा परेका छन् । नयाँ लाइसेन्स कहिलेबाट खुल्छ भन्दै सयौँको सङ्ख्यामा युवाहरू कार्यालय आउने गरेको कर्मचारीले बताए ।

‘नयाँ सवारी चालक अनुमतिपत्र लिनुपर्ने छ । काम गर्ने स्थलमा लाइसेन्स मागेको छ,’ धनुषा विदेह नगरपालिकाको दुहबीबाट लाइसेन्स लिन कार्यालयमा भेटिएका रामसोगारथ महतोले भने, ‘हाकिमसाबलाई सोध्दा अहिले हुँदैन, नयाँ लाइसेन्स वितरण भएको छैन, अनलाइन हेर्दै गर्नुस् भन्नुभयो ।’

तीन सातादेखि लाइसेन्स वितरणको काम रोकिएको गुनासो गर्दै उनले अझ कति दिन लाग्छ भन्ने पनि थाहा हुन नसकेको बताए । ‘नयाँ सरकार आएको छ, सरकारी काम झन छिटो हुन्छ होला भनेको त उही पुरानै पारा छ,’ उनले भने ।

जनकपुर–१५ बस्ने रिना यादवले स्कुटीको लाइसेन्स लिनुपर्ने छ । लिखित र ट्रायल पास गरिसकेकी उनले लाइसेन्सका लागि दुई पटक कार्यालय धाइसकेकी छन् । ‘कार्यालयमा आउँदा लाइसेन्स वितरण भएको छैन भन्दै फर्काउने काम भइरहेको छ,’ उनले भनिन्, ‘एउटा सानो काम रोकिँदा मान्छेको क्यारियर बर्बाद हुनसक्छ । नयाँ सरकार आयो, सुशासनको कुरा गर्छ, तर जनतालाई सेवा सुविधा दिन सक्दैन ।’

मधेस प्रदेशका श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रंजित कुमार यादवले पहिलाको सिस्टम हटाएर नयाँ सिस्टम निर्माणको क्रममा रहेकाले प्रक्रिया अवरुद्ध हुन पुगेको बताए । रातोपाटीसँग उनले भने, ‘पहिलाको भन्दा धेरै राम्रो सिस्टम सेटअप हुँदैछ । त्यो सेटअप भयो भने विगतमा जस्तो नयाँ लाइसेन्स लिन ४/५ पटक कार्यालय धाउनुपर्दैन । नवीकरण त आफैँले अनलाइनबाट गर्न मिल्छ ।’

अहिले केही समस्या देखिए पनि सेटअप भइसकेपछि सधैँका लागि राम्रो हुने उनले बताए । साउन महिनाभित्रै यो समस्या हल हुने उनको दाबी छ ।

लाइसेन्स नवीकरणमा पनि समस्या उत्पन्न भएपछि लाइसेन्सको म्याद सकिन २/४ दिन बाँकी रहेकाहरू झनै पीडित बन्न पुगेका छन् । ‘लाइसेन्सको म्याद जम्मा ४ दिन बाँकी छ,’ नवीकरणका लागि महोत्तरीको मटिहानीबाट आएका सौरभ झाले गुनासो गर्दै भने, ‘४ दिनपछि म्याद सकिन्छ, कार्यालयले त्यो समयभित्र नवीकरण गरेन भने मैले फेरि नयाँ बनाउनेजस्तै प्रक्रिया अपनाउनुपर्छ । अब यो पीडा कसलाई भन्न जाने होला ?’

कार्यालयका कर्मचारीले पनि यो ठुलो समस्या रहेको बताउँछन् । यस्तो समस्या लिएर आउने सेवाग्राहीको चित्त बुझाउन नसकेर आफूहरू लुक्नुपर्ने अवस्थासमेत आउने गरेको कर्मचारीको गुनासो छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्