काठमाडौं, भदौं ६ । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दिनुभएको हो । सर्वोच्चले कार्कीको रिट दर्ता गरेर भोलि बिहीवारका लागि पेसी तोकेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिँदा सभाध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मतदान गर्नुभएको थियो । कार्कीले थापाले लिएको विश्वासको मत असंवैधानिक रहेकोले त्यसलाई खारेज गरी संवैधानिक व्यवस्थाअनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश पनि माग्नुभएको छ ।











