नवलपरासी ,१८ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको उद्घाटन गरिएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीयको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा सञ्चालनमा आएको केबलकारको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभयो । विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उहाँले बताउनुभयो । बैंक ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उहाँले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताउनुभयो ।
केबलकारको लागत करिब रु दुई अर्ब रहेको केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । यही वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आइसकेको जनाउँदै उहाँले केबलकारको अपर स्टेशनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका समेत अध्यक्ष रहनुभएका ढकालले नवलपुरमा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदालाई सबै नेपाली समक्ष पु¥याउन सघाउने गरी केबलकार सञ्चालनमा ल्याएको बताउनुभयो । मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालीका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण गरिएको छ । केबलकारको एकतर्फी लम्बाइ एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् ।











