‘अदालतमा विचाराधीन मुद्दामा छलफल गर्न मिल्दैन’, कांग्रेस

खबर बुक
  • ख-
  • ख+

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले सोमबार उपसभामुख अप्सरा चापागाईंलाई पत्र बुझाउँदै मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकाले विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने बताएका हुन्।

महर्जनले बुझाएको पत्रमा उच्च अदालत पाटन, हेटौँडा इजलासमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक कुमारी तामाङलगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ भइसकेको उल्लेख छ। उक्त मुद्दामा अदालतले भदौ १० गते अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेसी तोकेको छ।

अदालतमा विचाराधीन विषयमा प्रदेशसभाले छलफल गर्नु संविधानविपरीत हुने कांग्रेसको जिकिर छ। पत्रमा नेपालको संविधानको धारा १९१ उद्धृत गर्दै अदालतमा विचाराधीन मुद्दाको न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषयमा प्रदेशसभामा छलफल गर्न नहुने उल्लेख गरिएको छ।

यही संवैधानिक व्यवस्थालाई आधार बनाउँदै कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मतसँग सम्बन्धित विषय अदालतमा विचाराधीन रहेकाले प्रक्रिया अघि बढाउन नमिल्ने बताएको हो।

प्रमुख सचेतक महर्जनले अदालतबाट अर्को निर्णय नआएसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका छन्। विश्वासको मतको प्रक्रिया अघि बढाउँदा न्यायिक प्रक्रियामा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले अदालतको निर्णय नआउँदासम्म बैठक नराख्नुपर्ने उनको भनाइ छ।

मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्