काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक विवादमा सर्वोच्च अदालतमा ‘सेटिङ’ गरिएको भन्दै संस्थापन पक्षका नेताहरूले प्रचार गरेकोप्रति आपत्ति जनाएका छन्।
कांग्रेसको आधिकारिक विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै निवेदन दिएका थिए। देउवा पक्षबाट पुनः सर्वोच्चमा निवेदन दर्ता भएपछि केही नेताहरूले अदालतमा ‘सेटिङ’ गरिएको आरोप लगाएका हुन्।
कांग्रेस केन्द्रीय सदस्य कुसुम थापाले खड्कालाई लक्षित गर्दै अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको भन्दै अभिव्यक्ति नदिन चेतावनी दिएकी छन्।
तर, देउवाको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरेका कांग्रेस नेता दीपक खड्काले उक्त आरोपप्रति आपत्ति जनाएका छन्। उनले न्यायको सर्वव्यापी सिद्धान्तलाई आत्मसात् गर्दै कांग्रेसको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनाविरुद्ध न्याय खोज्न सर्वोच्च अदालतको ढोका ढकढकाएको बताएका छन्।
खड्काले सर्वोच्च अदालतमा रिट दर्ता गरी न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन गर्ने र अविश्वास पैदा गर्ने उद्देश्यले आफूलाई समेत जोडेर ‘अदालत सेटिङ’ गरिएको प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले यस्तो प्रचारलाई कुप्रचार तथा अदालतको गरिमा घटाउने योजनाबद्ध प्रयास भएको दाबी गर्दै त्यसप्रति सचेत रहन आग्रह गरेका छन्। न्याय र स्वतन्त्रताका लागि लडेको व्यक्तिका रूपमा आफूलाई अदालतप्रति पूर्ण विश्वास र भरोसा रहेको तथा सर्वोच्च अदालतले न्याय दिनेमा विश्वस्त रहेको उनको भनाइ छ।
कांग्रेसका अर्का नेता केदार कार्कीले पनि अदालतलाई विवादमा तान्ने गरी आक्रामक अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल तथा मिडियामार्फत ‘कन्टेन्ट’ बनाएर अदालतमा समेत आक्रामक वातावरण सिर्जना गराउने प्रयास भएको आरोप लगाएका छन्। कार्कीले संस्थापन पक्षका नेताहरूलाई लक्षित गर्दै बिहान बोलेको कुरा दिनभरि नटिक्ने भन्दै न्यायालयलाई विवादमा नतान्न आग्रह गरेका छन्।
कांग्रेसभित्रको आन्तरिक विवादसँगै सर्वोच्च अदालतमा पुगेको मुद्दालाई लिएर दुवै पक्षबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ।










