काठमाडौँ । विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ।
विजयादशमी अर्थात् असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने पर्व हो। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो भने भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गर्नुभएको विश्वास गरिन्छ।
विजयादशमीका दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस पर्वले मानिसलाई सत्कर्ममा अघि बढ्न र जीवनमा सफलता हासिल गर्न प्रेरणा दिने विश्वास गरिन्छ। आशीर्वाद ग्रहण गर्न टाढा रहेका मान्यजनकहाँ पुग्ने तथा वर्षौँदेखि भेटघाट हुन नसकेका आफन्त र साथीभाइसँग आत्मीयता साटासाट गर्ने अवसरसमेत यस पर्वले प्रदान गर्छ।
विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्छ। यस अवसरमा समाजमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्दै प्रत्येक नागरिकले सरकार आफ्नो साथमा रहेको महसुस गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको सन्देश दिइएको छ।
यस्ता विकृति र विसङ्गति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा जोड दिइएको छ।
भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्न विजयादशमीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस पर्वले आपसी सद्भाव, सम्मान, प्रेम र सामाजिक एकतालाई थप बलियो बनाउने विश्वास गरिन्छ। अन्त्यमा, आ–आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउँदै आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गरिएको छ।










