काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कानुन व्यवसायीले छुट्टाछुट्टै रिट दर्ता गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।
यसअघि शुक्रबार सर्वोच्च अदालतमा पेस गरिएको रिट निवेदन सच्याउन भन्दै फिर्ता लगिएको थियो। त्यसलाई संशोधन गरी सोमबार पुनः रिट दर्ता गरिएको हो।
देउवा पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कांग्रेसले अघि बढाएको कार्यतालिका रोक्न माग गरेको छ। आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको अवस्थामा त्यसको टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको तर्क छ।
कांग्रेसले असोज १६–१९ गते १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।
यसअघि इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।









