गरिमा चौधरी हत्या प्रकरणमा सांसद कर्णको आक्रोश, राज्य संयन्त्रप्रति उठाइन् प्रश्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नीनु कुमारी कर्णले ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संसद्मा आक्रोश पोखेकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद कर्णले छोरीहरूको सुरक्षा गर्न नसकेको भन्दै राज्य संयन्त्रप्रति प्रश्न उठाइन्। अनुसन्धानका नाममा भइरहेको मिडिया ट्रायलप्रति समेत उनले आपत्ति जनाइन्।

‘के छोरी जन्मनु र जन्माउनु अपराध हो ? कि छोरी भएर छोरीको शारीरिक संरचना नै यो समाजका लागि पाप हो ? मलाई जवाफ चाहिएको छ,’ उनले प्रश्न गरिन्।

एउटी छोरीमाथि शारीरिक आक्रमण हुँदा र उनको शरीर क्षतविक्षत पारिँदाको पीडा एउटी आमाले मात्र बुझ्न सक्ने उनले बताइन्।

गरिमा चौधरीलगायत कैयौँ चेलीबेटी बलात्कारको सिकार भइरहँदा पनि सुरक्षा निकाय किन निरीह बनेको भन्दै कर्णले प्रश्न गरिन्।

‘किन सुरक्षा निकाय ध्यान दिँदैन ? किन निरीह छ ? अब हामीले हाम्रा छोरीबेटीको जिम्मा कसलाई लगाउने ? कि छोरीमुक्त देश र छोरीमुक्त समाज बनाऊँ भनौँ ?’ उनले भनिन्।

गरिमा हत्या प्रकरणमा भइरहेको अनुसन्धानको शैलीप्रति समेत असन्तुष्टि जनाउँदै उनले यसलाई ‘मिडिया ट्रायल’ र ‘नौटङ्की’को संज्ञा दिइन्।

राज्य र सुरक्षा निकायले अपराधीलाई कानुनी दायरामा ल्याएर सजाय दिन नसक्ने हो भने उनीहरूलाई आमाहरूको जिम्मा लगाउन चुनौती दिँदै कर्णले आक्रोश व्यक्त गरिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्