गगनले देउवासँग भेट्न समय मागे, देउवा भेट्न अनिच्छुक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवासँग भेट्न समय मागेका छन्।

सभापति थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर भेटका लागि समय मिलाइदिन आग्रह गरेका हुन्। देउवा हङकङबाट फर्किएको दुई साता पुग्न लाग्दासमेत दुई नेताबीच भेटवार्ता हुन सकेको छैन।

पार्टीभित्र देखिएको विवाद समाधान गर्ने उद्देश्यले सभापति थापाले देउवासँग भेट गर्न खोजेको महामन्त्री प्रदीप पौडेलले बताए।

उनका अनुसार थापाले सचिवालयमा फोन गरेर भेटको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। ‘उहाँले सार्वजनिक रूपमै पनि भनिसक्नुभएको छ। सचिवालयलाई फोन गरेर भेटको व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो। उताबाटै कुनै जवाफ आएको छैन,’ पौडेलले भने।

पौडेलले पार्टी बैठकबाटै पूर्वसभापति देउवाको स्वास्थ्यलाभको कामना गरिसकेको पनि बताए।

हङकङबाट फर्किएपछि देउवा आफ्ना निकट नेताहरूसँग नियमित भेटघाट गर्दै आएका छन्। उनी चुनदेवीस्थित निवासमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरिरहेका छन्।

तर विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान पदाधिकारीसँग भने देउवा तत्काल भेट गर्ने पक्षमा नरहेको नेताहरू बताउँछन्। भेटका लागि आग्रह गर्ने नेताहरूलाई समय मिलाएर भेट्ने जवाफ दिँदै आएको बताइएको छ।

देउवा सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकतासम्बन्धी मुद्दाको टुंगो नलागेसम्म गगन नेतृत्वको पदाधिकारीसँग भेट नगर्ने मनस्थितिमा रहेको उनीनिकट नेताहरूको भनाइ छ।

यसैबीच, सभापति थापाले अघि सारेको महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवा सर्वोच्च अदालत पुगेका छन्। यही विवादका कारण कांग्रेसभित्र दुई पक्षबीचको दूरी थप बढेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्