शंखमुल होस्टेलमा युवक हत्या प्रकरणमा थप दुई जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा, कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय प्रमित पटेल र महोत्तरी, लोहरपट्टी नगरपालिका–६ का २३ वर्षीय आलोक ठाकुर रहेका छन्। पटेल भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका थिए भने ठाकुर होस्टेल सञ्चालक हुन्।

पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैँसेबाट तथा ठाकुरलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि सोही होस्टेलमा बस्ने बारा, कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब १० बजे होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा होस्टेलको बाहिरी प्यासेजमा फेला परेका थिए।

घाइते कालाथोकीलाई तत्काल उपचारका लागि निजामती कर्मचारी अस्पताल, मिनभवन लगिएको थियो। उपचारका क्रममा शुक्रबार दिउँसो १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपितहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेका तीनै जनामध्ये पछिल्ला दुई जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्