रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन्।

सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे १ ज १४८२ नम्बरको गाडीले आज बिहान उनीहरूलाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

आमा–छोरी क.प्र. ०२००१ ख १०७० नम्बरको गाडीमा मुसिकोट खलंगाबाट सुर्खेत जाँदै थिए। गाडीबाट झरेर छोरीलाई शौच गराउन लैजाने क्रममा अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्