काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।
रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे। मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन सभापति थापाको नेतृत्वमा कांग्रेस अघि बढिरहेकाले आफू कांग्रेसमा आबद्ध भएको बताए।
उनले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
सभापति थापाले न्यौपानेलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा थापाले न्यौपानेलाई पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न आग्रह गरे।
न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा पार्टीको संगठन विस्तारमा सहयोग पुग्ने थापाले बताए।










