काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट शनिबार साँझदेखि हराएकी दुई वर्षीया बालिका आइतबार बिहान सकुशल फेला परेकी छन्।
स्थानीय मुकेशकुमार मण्डलकी छोरी शनिबार साँझ करिब साढे ५ बजे आफ्नै घरबाट हराएकी थिइन्। बालिका नभेटिएपछि उनका हजुरबुवा मदन मण्डलले राति पौने ९ बजे अस्थायी प्रहरी पोस्ट बसपार्कमा जानकारी गराएका थिए।
बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो। प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी रातभर खोजतलास गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको नेतृत्वमा सुरक्षा टोलीले खोजी अभियान चलाएको थियो। खोजीका क्रममा आइतबार बिहान करिब पौने ६ बजे कलैया उपमहानगरपालिका–२६ स्थित सिस्वा जाने बाटोमा बालिका सकुशल फेला परेकी हुन्।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी आइतबार बिहान ११ बजे बालिकालाई उनका बुबा मुकेशकुमार र हजुरआमा सावित्रीको जिम्मा लगाएको छ।
बालिका घरबाट कसरी उक्त स्थानसम्म पुगिन् भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन।
यसअघि साउन ३१ गते बाराकै जितपुरसिमरा उपमहानगरपालिका–१ बाट तीन वर्षीया बालिका हराएकी थिइन्। भदौ २ गते साँझ घरनजिकैको खाली घरमा ती बालिका मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटनामा प्रहरीले समयमै खोजतलास नगरेको भन्दै विरोध भएको थियो।










