काठमाडौं, बैशाख ११ । उपनिर्वाचनबाट सत्ता गठबन्धन र नेकपा एमाले दुवै पक्ष पराजय भोग्दै गरेको रुझान् आइरहेका बेला सिंहदरवारमा कांग्रेस,एमाले र माओवादी केन्द्रबीच पछिल्लो गतिरोध अन्त्य गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको तीन दलका शीर्ष नेताको छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति भएको छ ।
स्रोतका अनुसार एमालेको अडान बमोजिम संसदीय समितिको नेतृत्वमा पनि दलहरुबीच सहमति भएको छ । एमालेले २ विशेष समितिमध्ये राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।
त्यस्तै संसदीय विशेष सुनुवाई समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ । १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र थप एक समितिको सभापति पाउने सहमति भएको छ ।
बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको बताए ।











