बेइजिङमा खनाल-वाङ यी भेटवार्ता : नेपाल-चीन सम्बन्ध सुदृढ पार्ने प्रतिबद्धता

खबर बुक
  • ख-
  • ख+

१ असार,काठमाडौं । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी गरेका हुन् ।

चारदिने औपचारिक भ्रमणका क्रममा भएको भेटमा दुई पक्षबीच द्विपक्षीय सम्बन्धका विविध आयामबारे व्यापक छलफल भएको परराष्ट्रमन्त्रीले जानकारी दिए ।

छलफलमा सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका विषय समेटिएको बताइएको छ ।

भेटका क्रममा दुवै पक्षले जनस्तरका सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए । नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा राजनीतिक, आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार भइरहेका बेला उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्रीले भेटपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा चीनका विदेशमन्त्री वाङ यीसँगको भेटलाई फलदायी र व्यापक छलफलका रूपमा उल्लेख गरेका छन् ।

उनले दुई देशबीचका साझा हितका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर कुराकानी भएको बताएका छन् ।

परराष्ट्रमन्त्री खनालको चीन भ्रमणलाई दुई देशबीचको कूटनीतिक संवादलाई निरन्तरता दिने र विकास तथा पूर्वाधार सहकार्यका एजेन्डालाई अगाडि बढाउने अवसरका रूपमा हेरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्