आईजीपीलाई हटाएर प्रहरी खरिद अनियमितताको छानबिन गर्नुपर्ने मागपछि लेखा समितिमा विवाद

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सत्तारूढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) लाई जिम्मेवारीबाट हटाएर प्रहरीभित्र भएको अनियमितताबारे छानबिन गर्नुपर्ने प्रस्ताव राखेपछि सार्वजनिक लेखा समितिको बैठकमा विवाद भएको छ।

आजको बैठकमा सांसद सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गर्नुभयो। आईजीपीमाथि समेत प्रश्न उठिसकेको अवस्थामा उहाँलाई पदमै राखेर छानबिन गर्न नहुने सुनारको भनाइ थियो।

सुनारले आईजीपीको घरबाट तीन करोड रुपैयाँ चोरी भएको विषयसमेत बैठकमा उठाउनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले उहाँको भनाइप्रति असहमति जनाएका थिए।

आफ्नो भनाइको समितिमै विरोध भएपछि सुनारले आरोपितको पक्षपोषण गर्न नहुने भन्दै भ्रष्टाचारविरुद्ध प्रश्न उठाएबापत आफूलाई समितिबाट हटाउन चुनौती दिनुभयो। उहाँले आरोप लागेका व्यक्तिलाई छानबिन अवधिभर जिम्मेवारीबाट अलग राख्नुपर्ने र निर्दोष ठहरिएपछि पुनः जिम्मेवारीमा फर्काउन सकिने बताउनुभयो।

विवाद बढ्दै गएपछि सुनार बैठकबाट उठेर बाहिरिनुभयो। उहाँ बाहिरिएपछि नेकपाका सांसद वर्षमान पुनलगायतले आरोप लगाएर बैठकबाट भाग्न नमिल्ने बताउनुभयो।

समितिका सभापति भरतबहादुर खड्काले भने कानुनबमोजिम प्रमाणित नभएसम्म कसैलाई आरोपित भन्न नमिल्ने भन्दै उजुरीमाथि दुवै पक्षलाई राखेर छलफल गर्नुपर्ने बताउनुभयो। उहाँले कसैलाई पनि आफ्नो सफाइको मौकाबाट वञ्चित गर्न नहुने भन्दै प्राकृतिक न्यायको सिद्धान्तअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्