काठमाडौं । चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी र नवगायिका लुमा केसीको आवाजमा नयाँ गीत ‘नहेर टुलुटुलु‘’ सार्वजनिक गरिएको छ।
शुक्रबार आयोजित एक समारोहका बीच गीतको भिडियो विमोचन गरिएको हो। कार्यक्रम राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न भएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रमणि गौतमको सभापतित्व रहेको थियो भने प्रमुख अतिथि शिव हमाल ९महासचिव, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल० रहेका थिए। कार्यक्रममा पृथ्वी थकाली, विनोद श्रेष्ठ, गायक खेम सेन्चुरी र गायिका लुमा केसीसहित विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव हमालले गायिका केसी नयाँ भए पनि उनको आवाज शक्तिशाली रहेको बताए। उनले लोकप्रिय गायक खेम सेन्चुरीसँगको सहकार्यले गीतलाई अझ प्रभावकारी बनाएको उल्लेख गरे। कलाकारबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै उनले एक–अर्काको सफलतामा समर्थन गर्नुपर्ने धारणा व्यक्त गरे।
अध्यक्ष चन्द्रमणि गौतमले संस्थाले मौलिक लोकसंस्कृतिमा आधारित गीतहरूलाई प्रवर्द्धन गर्दै आएको बताए। यस्तै, लोकदोहोरी व्यवसायी विनोद श्रेष्ठले नयाँ कलाकार उत्पादनमा आफूहरू सक्रिय रहेको र यो गीतले त्यसमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे।
गायक खेम सेन्चुरीले गायिका केसीको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने इच्छा व्यक्त गरे भने गायिका लुमा केसीले आफूलाई यस्तो अवसर प्राप्त भएकोमा उत्साहित भएको बताइन्।
गीतमा नेत्र अर्यालको शब्द तथा नन्दु परियारको संगीत रहेको छ। भिडियोतर्फ मौसम हिमालीको निर्देशनमा तयार गरिएको भिडियोमा नायक पल शाह र प्रिती गुरुङको अभिनय रहेको छ। छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन्।
उक्त गीतको भिडियो गायिका लुमा केसीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।












