झापा । केपी शर्मा ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार तथा नेता–कार्यकर्तालाई जनताको घरदैलोमा सक्रिय रूपमा पुग्न निर्देशन दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्षसमेत रहेका ओलीले फागुन २१ गतेका लागि तय निर्वाचन नजिकिँदै गर्दा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पु¥याउन आग्रह गरे। काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफल कार्यक्रममा उनले जनस्तरमा फैलिएका भ्रम चिर्न प्रत्यक्ष संवाद अपरिहार्य रहेको बताएका हुन्।
झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीका अनुसार अध्यक्ष ओलीले परिणाममुखी ढंगले अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। “सबै नेता–कार्यकर्ता परिणाम निकाल्ने गरी अभियानमा लाग्नुपर्छ। जनस्तरमा देखिएका भ्रम हटाउन घर–घरमै पुगेर संवाद गर्न उहाँको विशेष जोड छ,” ताम्लीले बताए।
बैठकमा झापा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार तथा निर्वाचन परिचालन कमिटीका संयोजकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचन तयारी, घरदैलो अभियान र प्रचार–प्रसारको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।
उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलको पक्षमा जनमत नरहेको दाबी गर्दै प्रत्यक्ष भेटघाट तथा चुनावी कार्यक्रममा मतदाताबाट एमालेप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन्।











