निर्वाचन आयोगद्वारा राजनीतिक दलका लागि ६४ बुँदे निर्देशन जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनावी प्रचारप्रसारमा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन जारी गरेको छ।

निर्देशन अनुसार, राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यले केही कडा प्रतिबन्धहरू पालना गर्नुपर्नेछ। कसैलाई उम्मेदवारी, मतदान वा प्रचारप्रसारबाट रोक्ने, धम्की दिने, आर्थिक प्रलोभन दिने, सामाजिक बहिष्कार गर्ने, हातहतियार वा विस्फोटक प्रदर्शन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। मतदातालाई नगद, उपहार, भोजभतेर वा अन्य प्रलोभनमार्फत प्रभावित पार्न पनि पाइँदैन।

प्रचारकार्यक्रमहरू फागुन ४ देखि १८ गतेसम्म मात्र सञ्चालन गर्न पाईनेछ र मतदान ४८ घण्टा अघि प्रचार रोक्नुपर्ने व्यवस्था छ। राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक प्रणालीमा आँच पुग्ने गतिविधि गर्न रोक छ। धर्म, जात, क्षेत्र वा समुदायबीच द्वेष फैलाउने, चरित्र हत्या गर्ने वा हिंसात्मक गतिविधि उक्साउने कार्य निषेध गरिएको छ।

निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारहरूले बैंक वा वित्तीय संस्थामार्फत मात्र खर्च गर्नुपर्ने, २५ हजार रुपैयाँभन्दा बढी सहयोग छुट्टै बैंक खातामार्फत लिनुपर्ने र आयोगले मागेमा बिल बुझाउनुपर्ने व्यवस्था छ। प्रचार सामग्रीमा तोकिएको एकरङ्गे पर्चा बाहेक पोस्टर, ब्यानर, फ्लेक्स वा डिजिटल बोर्ड प्रयोग गर्न पाइँदैन।

त्यसैगरी, मतदानस्थल वरिपरि ३०० मिटर भित्रको प्रचार सामग्री हटाउनुपर्ने, मतदान र मतगणनामा हस्तक्षेप नगर्नुपर्ने, स्थानीय प्रशासन र प्रहरीलाई कार्यक्रम सूचना दिनुपर्ने, बालबालिकाको प्रयोग नगर्ने तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रचार रोक्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशन उल्लङ्घन भएमा प्रचलित संघीय कानूनअनुसार कारबाही हुनेछ। निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्