काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने र बिधि-पद्दति मिच्ने काम भएको बताएका छन् । सर्वोच्च अदालतबाट आफूहरुलाई न्याय मिल्ने आशा उनले व्यक्त गरे ।
कांग्रेसको इतर पक्षले आयोजना गरेको भेलामा बोल्दै देउवाले कांग्रेसमा भावनात्मक एकता र मेलमिलापको आवश्यकता रहेको औंल्याए ।
उनले भने, ‘लामो इतिहास बोकेको नेपाली कांग्रेसमा अहिले चरम विवादको अवस्था छ । विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान, पद्दति मिच्ने काम भएको छ । यो विषय अहिले सम्मानित सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेकाले थप टिप्पणी गर्न चान्न । सर्वोच्चबाट हामीलाई न्याय मिल्नेमा म पूर्ण विश्वस्त छु ।’
देउवाले कांग्रेसममा विवाद हुँदा समग्र मुलुकको राष्ट्रियता कमजोर हुने खतरा औंल्याए । विगतमा कठिन विवादहरु हुँदासमेत सहमति र सहकार्यबाट समाधान भएको उनले स्मरणा गरे ।
‘असहमतिका विषयहरुमा सबै साथीहरुलाई न्याय हुने र सबैको भावना कदर हुने गरी वृहत्तर एकता कायम हुनुपर्छ । कोही पनि व्यक्तिकेन्द्रीत हुनु हुँदैन । हामी एउटै परिवारका सदस्य हौं । आग्रह पूर्वाग्रहबाट माथि उठौँ’, उनले भने ।
मुलुकका लागि आवश्यक पर्दा जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको उनले बताए ।










