काठमाडौं । करिब साढे पाँच महिनाको विदेश बसाइपछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै सक्रिय देखिएका छन्। सोमबार काठमाडौं उत्रिएका देउवालाई कांग्रेसका नेता–कार्यकर्ताले झाँकी, बाजागाजासहित भव्य स्वागत गरेका थिए।
विमानस्थलबाट समर्थकहरूले स्कर्टिङ गर्दै देउवालाई चुनदेवीस्थित कार्यालय पुर्याएका थिए। त्यहाँ उनलाई पार्टी सभापतिकै हैसियतमा कार्यकक्षमा लगिएको थियो।
स्वदेश फर्किएपछि उत्साहित देखिएका देउवाले सनरुफ कारबाट बाहिर निस्किएर समर्थकलाई अभिवादन गरेका थिए। चुनदेवीस्थित कार्यालयको बार्दलीबाट समर्थकलाई सम्बोधन गर्दै उनले आफूलाई कसैले केही गर्न नसक्ने चुनौतीसमेत दिए।
सरकारले आफूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर दुःख दिएको भन्दै आक्रोश व्यक्त गरेका देउवाले कार्यकर्ताको हुटिङबीच भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् ?’
समर्थकलाई सम्बोधन गरेपछि देउवा आफूनिकट शीर्ष नेताहरूसँग आन्तरिक छलफलमा बसेका थिए। छलफलमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइराला, विमलेन्द्र निधि, कृष्ण सिटौला, एनपी साउद, दीपक खड्का, प्रकाशशरण महत, मीन विश्वकर्मालगायतका नेता सहभागी थिए।
‘म किन थाक्ने ?’
छलफलकै क्रममा पूर्वउपसभापति विमलेन्द्र निधिले लामो विदेश बसाइपछि फर्किएका देउवालाई आराम गर्न सुझाव दिएका थिए।
तर देउवाले आफू नथाकेको भन्दै अझै सक्रिय रहेको संकेत दिएका थिए। छलफलमा सहभागी कांग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद राजु थापाका अनुसार निधिलाई जवाफ दिँदै देउवाले भनेका थिए, ‘म किन थाक्ने ? दिनको दुई घण्टा ट्रेडमिल गर्थें । डडेलधुरा हिँडेरै जान सक्छु ।’
देउवाको यो अभिव्यक्तिले उनी आगामी राजनीतिक गतिविधिमा सक्रिय रूपमा सहभागी हुने संकेत गरेको कांग्रेस नेताहरूको बुझाइ छ।
उपचारका लागि सिंगापुर गएका थिए
गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि फागुन १३ गते राति सिंगापुर गएका थिए। सिंगापुरमा उपचारपछि उनी पत्नी आरजु राणासहित हङकङमा बसेका थिए।
करिब साढे पाँच महिनापछि सोमबार काठमाडौं फर्किएका देउवाले आज आफूनिकट नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
स्वदेश फर्किएसँगै देउवा पुनः राजनीतिक रूपमा सक्रिय हुन थालेका छन्। उनको राष्ट्रिय भेला सम्बोधन र पछिल्ला अभिव्यक्तिलाई कांग्रेसभित्रको आगामी राजनीतिक गतिविधिका दृष्टिले समेत चासोका साथ हेरिएको छ।










