काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता रमेश लेखकले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई पुनः एकीकृत गर्नुपर्ने बताएका छन्।
शुक्रबार इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लेखकले विशेष महाधिवेशनका कारण कांग्रेस विभाजनको अवस्थामा पुगेको दाबी गर्दै देउवाको नेतृत्वमा पार्टीलाई एकीकृत गर्नुपर्ने बताएका हुन्।
‘हामीले विशेष महाधिवेशनलाई रोक्न सकेनौं । विशेष महाधिवेशनका कारणले पार्टी विभाजनको अवस्थामा पुगेको छ,’ लेखकले भने, ‘त्यसकारण शेरबहादुर देउवा दाइको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु।’
लेखकले देउवा वैधानिक रूपमा सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्थामा नरहेको र राजनीतिक रूपमा समेत आफू प्रतिस्पर्धामा नउत्रने घोषणा गरिसकेको बताए। यस्तो अवस्थामा जबरजस्ती विशेष महाधिवेशन गराउनु उचित नभएको उनको जिकिर थियो।
‘यदि नेतृत्व परिवर्तनकै प्रश्न थियो, हस्तान्तरणकै प्रश्न थियो भने पनि शेरबहादुर दाइले वैधानिक रूपमा सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन । उहाँले राजनीतिक रूपमा पनि प्रतिस्पर्धी हुन्नँ भनेर घोषणा गरिसक्नुभएको थियो,’ लेखकले भने।
विशेष महाधिवेशनलाई लेखकले पार्टीको स्वाभाविक नेतृत्व परिवर्तन प्रक्रियालाई हतारमा अघि बढाइएको घटनाका रूपमा व्याख्या गरे। उनका अनुसार नियमित रूपमा १५औँ महाधिवेशनमा अघि बढेको भए स्वाभाविक प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने थियो।
‘हामी १५औँ महाधिवेशनमा अघि बढेपछि प्राकृतिक र नियमित रूपमा नयाँ नेतृत्व आउने थियो नै । तर विशेष महाधिवेशनले आवधिक रूपमा अवधि पुगेर प्राकृतिक रूपमा सन्तान जन्मिने अवस्था हुँदै गरेको आमालाई बलजफ्ती शल्यक्रिया गरेर चाँडै सन्तान प्राप्त गर्ने नाममा जुन ढंगले विशेष महाधिवेशन भयो, त्यसले दुवैतिर समस्या पैदा गर्यो,’ उनले भने।
विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनले पार्टी र नयाँ नेतृत्व दुवैलाई समस्या पारेको लेखकको भनाइ थियो। ‘यदि स्वाभाविक जन्मलाई हतार गरेर अस्वाभाविक जन्मको रूपमा लिएर गयौं भने सन्तान पनि सशक्त हुन सक्दैन । आमाको शरीरलाई पनि प्रतिकूल असर पार्छ । अहिले भएको त्यही हो,’ उनले भने।











