हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री बानियाँले भदौ १ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने गरी आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन्।
सरकारमा सहभागी नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन बनाएर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक बहुमत जुटाउन सकेका छैनन्।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले भदौ ४ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। सोही कारण नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले भदौ ३ गतेअघि नै विश्वासको मत लिने निर्णय गरेको थियो। दलको निर्णयअनुसार मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका हुन्।
सरकार जोगाउन १५ सांसदको समर्थन आवश्यक
बागमती प्रदेशसभामा कुल ११० सदस्य छन्। बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसदको समर्थन रहेको छ।
यस आधारमा सरकार टिकाउन मुख्यमन्त्री बानियाँलाई थप १५ सांसदको समर्थन आवश्यक देखिएको छ।
हाम्रो नेपाली पार्टी बानियाँ नेतृत्वको सरकारमा एक मन्त्रीसहित सहभागी भइसकेको छ। यद्यपि, सरकारलाई आवश्यक बहुमत पुर्याउन थप राजनीतिक समर्थन जुटाउनुपर्ने चुनौती मुख्यमन्त्रीसामु छ।
प्रदेशसभामा नेकपाका २६ र नेकपा एमालेका २५ सांसद छन्। यी दुई दल नयाँ सत्ता गठबन्धनमा रहेका छन्। त्यस्तै, १२ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनमा भूमिका नलिने निर्णय गरेको छ।
तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने प्रतिपक्षको भूमिकामा रहँदै आएको छ।
अब भदौ १ गते हुने विश्वासको मतको मतदान बागमती प्रदेश सरकारका लागि निर्णायक बन्ने देखिएको छ। मुख्यमन्त्री बानियाँले आवश्यक बहुमत जुटाउन सके सरकार निरन्तरता पाउनेछ भने बहुमत प्राप्त गर्न नसके प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्नेछ।










