विमानस्थलबाट सोझै इतर समूहको सम्पर्क कार्यालय पुगे देउवा

खबर बुक
  • ख-
  • ख+

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको सम्पर्क कार्यालय गएका छन् । हङकङबाट स्वदेश फर्किएलगत्तै उनी चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका हुन् ।

नेता–कार्यकर्ता र सकमर्थकहरूको नाराबाजीका बीच सुरक्षाकर्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्कर्टिङ गरेर उनलाई चुनदेवी पुर्‍याएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार थाई एयरको विमानमार्फत करिब साढे १२ बजे स्वदेश फर्किएका थिए ।

उनलाई चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता कार्यकर्ताले स्वागत गरे । सो क्रममा उनले केहीबेर सम्बोधन पनि गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

देउवा भोलि (शुक्रबार) सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् ।

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् ।

तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्