काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सङ्गठनात्मक अराजकता सिर्जना हुने गरी विशेष महाधिवेशन बोलाउने अधिकार कुनै पनि पदाधिकारीलाई नहुने बताएका छन्।
इतर पक्षको जारी भेलामा नेता साउदले प्रस्तुत गरेको समसामयिक प्रस्तावमा गगन थापाले विशेष महाधिवेशन आयोजना गर्नुलाई सङ्गठनात्मक अराजकता भनेका छन्।
प्रस्तावमा भनिएको छ, ‘विशेष महाधिवेशन वैधानिक दृष्टिकोणबाट अवैधानिक थियो। त्यो केन्द्रीय समितिले स्वामित्व लिनै विशेष महाधिवेशन बोलाएको थिएन। दोस्रो, नियमित महाधिवेशनको मिति तोकिसकेको, केन्द्रीय समितिको कार्यकाल समाप्त भइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता रहँदैन।’
नियमित महाधिवेशनको मिति तोकिसकेपछि समयमै महाधिवेशन गर्नुपर्ने, राजनीतिक गतिरोधको निकास विशेष महाधिवेशन नभएको उल्लेख गरिएको छ।
प्रस्तावमा भनिएको छ, ‘विशेष महाधिवेशनको वैधानिकताका सवालमा सर्वोच्च अदालतबाट न्यायिक निरूपणका निमित्त निस्सा पाएको अवस्था छ। निर्वाचन आयोगको निर्णय, त्यसपछि डिभिजन बेन्चको फैसलाविरुद्ध पुनरावलोकन हुँदै छ। प्राकृतिक न्यायको सिद्धान्तअनुसार सुनुवाइको मौका नदिईकन फैसला गरेको हुँदा त्रुटिपूर्ण ठहर गदै निस्सा प्राप्त भएको छ। हामीलाई निस्सा दिँदै गर्दा सुनुवाइको मौका नदिएका निर्णय प्रक्रियाले वैधानिकता प्राप्त गर्न नसके उल्लेख भएको छ। हामीलाई आशा छ, अदालतबाट न्याय मिल्नेछ।’
अदालतको निर्णय सबै राजनीतिक दल र नागरिकले सम्मान गर्नुपर्ने बताए। न्यायिक प्रश्नको समाधान कानूनी प्रक्रियाबाटै हुनुपर्नेमा जो दिएका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘पार्टीभित्रको राजनीतिक विवादको स्थायी समाधान अदालतको फैसलाले मात्र गर्न सक्दैन। अब नेपाली कांग्रेसको यो विवादलाई जित–हारको प्रश्नमा सीमित गर्नु हुँदैन। अदालतले कानूनी वैधता निर्धारण गर्न सक्छ; तर राजनीतिक विश्वास, सङ्गठनात्मक एकता र सहकार्य पुनर्निर्माण गर्न राजनीतिक संवाद र सहमति आवश्यक हुन्छ।’
उनले अब आफूहरूको दायित्व नियमित महाधिवेशनको समय गर्नु भएको बताए।
प्रतिवेदनमा भनिएको छ, ‘पार्टीलाई एकताबद्ध र निर्वाचनका लागि सक्षम बनाउने माध्यम हुनुपर्छ, पार्टी विभाजन र ध्रुवीकरण बढाउने कारण बन्न हुँदैन। कांग्रेसभित्र पनि युवा पुस्तालाई नेतृत्वमा ल्याउने बहस स्वाभाविक र आवश्यक छ। तर पुस्तान्तरणको अर्थ पुरानो पुस्तालाई अनुभव र योगदानलाई निषेध गर्नु होइन।’
पार्टी सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक हस्तान्तरण गर्दै घरमा सधैँ एकै जना मुली नरहने कुरा भनेको
स्मरण गरेका छन्।
कांग्रेसको नेतृत्व हस्तान्तरणको विधानतः व्यवस्थामा शेरबहादुर देउवा उभिएको जिकिर गरेका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘अनुभव र ऊर्जा, परम्परा र नवीनता तथा इतिहास र भविष्यलाई जोडेर नेतृत्व निर्माण गर्नुपर्छ । पार्टी र लोकतन्त्रका निमित्त जीवन अर्पेका धेरै नेता कांग्रेसमा छन् । सबैलाई यथोचित सम्मान गरिनुपर्छ । कांग्रेसले नयाँ पुस्तासँग संवादका लागि औपचारिक तथा अनौपचारिक दुवै संरचना निर्माण गर्नुपर्छ ।’
नेपाली कांग्रेसले वर्तमान सङ्कटका लागि अन्य दल, सरकार, निर्वाचन प्रणाली वा बाह्य परिस्थितिलाई दोष दिएर उम्कन नमिल्ने उल्लेख गरेका छन्। पार्टीभित्रका कमजोरी, गुटगतसंघर्ष, नेतृत्व हस्तान्तरणको समस्या, सङ्गठनात्मक जडता, जनतासँगको दूरी, नीति निर्माणमा कमजोरी र नयाँ पुस्तासँगको अपर्याप्त संवादलाई खुलेर स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘आत्मसमीक्षा कमजोरी होइन, सुधारको पहिलो आधार हो । कांग्रेसले जनतासँग इमानदारीपूर्वक भन्न सक्नुपर्छ, हामीले पनि गल्ती गरेका छौँ, तर हामी आफ्नो गल्तीबाट सिक्छौँ र लोकतन्त्र, संविधान तथा जनताको अधिकारलाई अक्ष बलियो बनाउने जिम्मेवारीबाट पछि हट्दैनौँ । यस्तो स्वीकारोक्तिले पार्टीलाई कमजोर होइन, अझ विश्वसनीय बनाउनेछ ।’










