सर्वोच्चले न्याय दिनेमा विश्वस्त छु : शेरबहादुर देउवा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बोल्नु उचित नहुने बताए।

विशेष महाधिवेशनको पक्षमा आफू नरहेको स्पष्ट पार्दै उनले त्यसको आवश्यकता पनि आफूले नदेखेको बताए। ‘सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु भएन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ,’ उनले भने।

देउवाले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता लोकतन्त्रका लागि अत्यन्त आवश्यक रहेको पनि बताए। उनले लोकतन्त्र बलियो बनाउन स्वतन्त्र प्रेसको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।

यसैबीच, देउवाले आफू सुदूरपश्चिमप्रति अझै जिम्मेवार रहेको बताएका छन्। सुदूरपश्चिमका जनताले आफूलाई लामो समयदेखि सहयोग गर्दै आएको भन्दै उनले त्यस क्षेत्रका लागि अझै केही काम गर्न बाँकी रहेको बताए।

‘म जहाँ भए पनि सुदूरपश्चिममा मैले केही कामहरू बाँकी छन्, त्यो पूरा गर्न बाँकी छ। सुदूरपश्चिमका जनताले मलाई सहयोग गरेका छन्। सुदूरपश्चिमका जनताप्रति म आभारी छु,’ देउवाले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्