अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो र सडक कटान हुँदा सडक यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएको जनाएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइनेछ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो, लिपिङमा सडक भासिँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरको जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूक्षय तथा पहिरोका कारण घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। वर्षाका कारण थप जोखिम हुन सक्ने भएकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्