रोल्पामा पहिरोको कहरः दुई पालिकामा १५ जनाको मृत्यु, दुई बेपत्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले रोल्पाको पूर्वी क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिकामा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। दुई जना घाइतेको उपचार भइरहेको छ।

गत बुधबार थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले बस्ती नै बगाउँदा ११ जनाको मृत्यु भएको हो। पहिरोमा परेका ९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर अझै बेपत्ता रहेका छन्। घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

पहिरोमा परी १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८५ वर्षीया हस्तकला रोकामगर, ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगरको मृत्यु भएको छ।

पहिरोले थबाङमा ९ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ संरचना बगाएको गाउँपालिकाले जनाएको छ। घटनापछि गाउँपालिका शोकमा डुबेको छ।

मृतक अशोक पुनमगरका काका कृष्णका अनुसार राति अविरल वर्षा भइरहेका बेला अचानक पहिरो खसेपछि मानिसहरूले सम्हालिने अवसरसमेत पाएनन्। उनले घटनाले आफन्त तथा स्थानीयवासीको मनमा कहिल्यै नमेटिने पीडा दिएको बताए।

थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले ठूलो मानवीय तथा भौतिक क्षति हुने कल्पना नगरेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पनि पहिरोमा परी चार जनाको मृत्यु भएको छ। फलबाङका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र गिट्ठेका ६४ वर्षीय लामी घर्तीमगरको मृत्यु भएको हो।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगर अघिल्लो दिन थबाङ–५ कोटलबारामा पहिरोमा परेका मृतक तथा बेपत्ताको उद्धारमा खटिएका थिए। त्यसको भोलिपल्ट आफ्नै पालिकामा पहिरोमा चार जनाको मृत्यु भएपछि आफू मर्माहत भएको उनले बताए।

यससँगै बुधबार र बिहीबारको पहिरोमा मात्रै रोल्पामा १५ जनाले ज्यान गुमाएका छन्। दुई जना बेपत्ता र दुई जना घाइते छन्। घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्