काठमाण्डौं, २१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ । टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज विमानस्थलबाट आज दिउँसो १ः२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार टर्किसको ‘ए३३०(३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।
टर्किस जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।
‘त्यसपछि हामीले दमकल, एम्बुलेन्स लगायत आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयार गरेर विमानस्थल बन्द गर्यौं,’ महाप्रबन्धक सिटौलाले भने, ‘तर, टर्किस चालकदलले भारतको कोलकाता डाइभर्ट गर्छौं भनेपछि हामीले अनुमति दियौं ।’
सिटौलाका अनुसार आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिनमात्र चलाएर टर्किसको जहाज कोलकाता डाइभर्ट भएको थियो ।












