काठमाडौं, २१ माघ । नेकपा एमालेले दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ ।
प्रचार विभाग प्रमुख एवं आम चुनावका पार्टी प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति नै जारी गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत दल तथा उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गैर(जिम्मेवार र गैर(राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ । विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले)को गम्भीर ध्यानाकर्षण भएको छ ।’
एमालेको निर्वाचन चिन्ह परिवर्तन लगायतका भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने एमालेको चेतावनी छ ।












