माघे सङ्क्रान्तिले आपसी मेलमिलाप बढाउँछः राष्ट्रपति पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै पौडेलले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले भनेका छन् “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनाका साथै सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

राष्ट्रपति पौडेलले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको पनि उल्लेख गरेका छन् । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्