काठमाडौँ, १५ पुस । नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची मंगलबार बिहान मात्रै बुझाइएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। आयोगले दिएको समयभित्र शुल्क तिरेर भौचर काटेको कांग्रेसले मंगलबार बिहानमात्रै बन्दसूची बुझाएको हो ।
आयोगले देउवाको डिजिटल हस्ताक्षरलाई मान्यता नदिएपछि मंगलबार बिहान कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल बन्दसूचीमा हस्ताक्षर गराउन महाराजगन्जस्थित देउवा निवास पुगेका थिए । देउवाले हस्ताक्षर गरेपछि लगेर बुझाइएको हो ।
कांग्रसले ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा राखेको छैन। कांग्रेसको सूचीमा ५ प्रतिशतभन्दा बढी जेन–जीको प्रतिनिधित्व रहेको बताएको छ। कांग्रेसले संस्थापनपक्षलाई ६० र इतरपक्षलाई ४० प्रतिशतको भागबन्डा मिलाएर उम्मेदवार छनोट गरेको हो।
समानुपातिकतर्फको १ सय १० सिटलाई कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा कोटा छुट्याएर वितरण गरेको छ । कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जना कांग्रेसले राखेको छ ।











