जेनजी आन्दोलनका क्रममा गोली चलाउने कुनै आदेश मैले दिएको होइन- पुर्वगृहमन्त्री लेखक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष १४ । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश नदिएको बताउनुभएको छ ।

सोमबार भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिएपछि कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका क्रममा गोली चलाउन आफु कुनै लिखित वा मौखिक आदेश नदिएको बताउनुभएको हो । उहाले आन्दोलनलाई दमन गर्न गृहमन्त्रीले गोली चलाउन आदेश दिनुपर्ने कानुनी व्यवस्था समेत नरहेको धारणा राख्नुभयो ।

भाद्र २३ गते भएको घटनाका कारण मर्माहित भएर पदीय मर्यादाको नैतिकताका आधारमा आफुले पदबाट राजीनामा दिएको उहाको भनाइ छ ।

लेखकले जेनजी आन्दोलनको अघिल्लो दिन गृहमन्त्रीको हैसियतले क्याजल्टी र कुनै व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिन सुरक्षा निकायलाई निर्देशन दिएको दावी गर्नुभयो । उहाले भाद्र २४ गतेको घटनामा घुसपैठ भए हिंसात्मक घटना भएको बताउनुभयो । लेखकले जाँचबुझ आयोगमा मौखिक प्रश्नको जवाफका साथै लिखित बयान बुझाएको जानकारी दिनुभयो । लिखित बयानमा लेखकले मुलुक र लोकतन्त्रका लागि जीवन पर्यन्त राजनीतिमा होमिएका पार्टी, नेता र कार्यकर्तालाई लाञ्छित गर्ने, उनीहरुमाथि भौतिक आक्रमण गर्ने र सम्पत्ति नष्ट गर्ने काम क्षमायोग्य नभएको उल्लेख गर्नुभएको छ । यस विषयमा पनि आयोगले उचित छानवीन गरी सत्य, तथ्य पत्ता लगाउने उहाले बताउनुभएको छ ।

लेखकले स्थानहद र राहदानी रोक्का गरेको बिषयमा लिखित वा मौखिक जानकारी नदिएको भन्दै बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्था विपरीत भएको बताउनुभयो । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानविन गर्न सरकारले असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्