सिरहा । लगातारको शीतलहरका कारण सिरहा जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक गतिविधि कष्टकर बनेको छ।
शीतलहरको असर विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा गरिब र विपन्न समुदायमा बढी देखिएको छ। स्थानीयवासी बिहानदेखि नै घुर तापेर चिसोबाट बच्ने प्रयास गरिरहेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति समेत घट्दै गएको छ।
चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले नगर क्षेत्रका विभिन्न चोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीका अनुसार ग्रामीण चोक, राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोकलगायत स्थानमा दाउरा बाल्ने काम थालिएको हो।
नगरपालिकाका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी ५०० परिवारलाई फाइबरका सिरक वितरण गर्ने तयारी गरिएको छ।
यसैबीच, मौसममा आएको परिवर्तन र निरन्तर चिसो हावाका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिए। उनका अनुसार अत्यधिक चिसो र न्यानो कपडाको अभावका कारण विशेषगरी विपन्न परिवारका बालबालिका नियमित रूपमा विद्यालय आउन नसकेको अवस्था छ।
त्यसैगरी, डिभिजन वन कार्यालय लहानले जाडोबाट बच्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ। कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
चिसोको प्रभाव बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। उनका अनुसार जिल्लाका १७ वटै स्थानीय तहका प्रमुखसँग छलफल भइरहेको छ र छिट्टै बैठक बसेर दाउरा वितरण, न्यानो कपडा उपलब्ध गराउनेलगायत आवश्यक निर्णय कार्यान्वयन गरिनेछ।
लगातारको शीतलहरले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय तथा स्थानीय तहले राहत तथा व्यवस्थापनका कार्यलाई तीव्रता दिएका छन्।











