नगरको पहिचान प्रवर्द्धन गर्न गोकर्णेश्वरमा टिकटक प्रतियोगिता

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगरको पहिचान, कला र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले खुला TikTok प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा जो–कोही इच्छुक व्यक्ति सहभागी हुन सक्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले वडा नं. ६ को कार्यालय नजिक, जोरपाटी चोक परिसरमा निर्माण गरिएको नगरको पहिचान झल्काउने 3D Art तथा ‘जोर + पाटी’ लेखिएको फल्टालाई समेटेर TikTok भिडियो निर्माण गरी पोस्ट गर्न सकिने व्यवस्था गरेको छ। डिजिटल माध्यममार्फत नगरको सांस्कृतिक र भौतिक पहिचानलाई व्यापक रूपमा प्रचार–प्रसार गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको नगरपालिकाको भनाइ छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। पुरस्कार विवरण अनुसार प्रथम हुनेले ७५ हजार, द्वितीयले ४० हजार, तृतीयले २५ हजार, चौथोले १५ हजार, पाँचौँले १० हजार र छैटौँले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले २०८२ साल पौष १० गतेदेखि पौष ३० गतेभित्र TikTok भिडियो पोस्ट गर्नुपर्नेछ। अन्तिम मितिपछि २० दिनसम्मको Likes र Views को आधारमा मूल्याङ्कन गरी माघ २० गते विजेता घोषणा गरिनेछ।

नगरपालिकाले तोकेको शर्तअनुसार भिडियोमा सो स्थानको 3D Art र दुईवटा फल्टा अनिवार्य रूपमा देखिनुपर्नेछ। TikTok भिडियो Boost गर्न नपाइनेछ भने विवरणमा #Gokarneshwor ह्यासट्याग प्रयोग गरी स्थानको संक्षिप्त वर्णन लेख्नुपर्नेछ। साथै @dipakrisalofficial TikTok ID फलो गरी पोस्ट गरिएको भिडियोको लिंक उक्त TikTok ID तथा WhatsApp नम्बर ९८२३२७८३३० मा पठाउनुपर्नेछ।

यस अवसरमा नगर प्रमुख दीपककुमार रिसालले सामाजिक सञ्जाललाई सिर्जनात्मक र सकारात्मक रूपमा प्रयोग गर्दै नगरको पहिचान प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले युवाहरूलाई नगरको सुन्दरता र सकारात्मक सन्देश प्रवाह गर्ने खालका भिडियो निर्माण गर्न आग्रह गर्दै प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गर्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्