तेस्रो लिङ्गीको नाम बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

खबर बुक
  • ख-
  • ख+

कात्तिक २८, काठमाण्डौ  । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रो लिङ्गीको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले आज सोमवार निर्वाचन आयोगको त्यस निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

‘आदेशमा लैङ्गिक तथा अल्पसङ्ख्यकले मानसिक पीडा भोग्नुपर्ने अवस्था समेतलाई मध्यनजर गर्दा सो कार्य तत्काल रोक्नु आवश्यक देखिँदा अन्य कुरामा पछि ठहरेबमोजिम हुने गरी हाल निवेदनको नाम प्रनिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीबाट हटाउनेसम्बन्धी निर्णय र पत्राचारसमेत कार्यान्वयन नगरी बन्दसूचीमा यथावत् राख्नू भनिएको छ ।’

आयोगले बन्दसूची र नागरिकतामा लैङ्गिक पहिचान फरक परेका प्रतिनिधि सभाका १७ र प्रदेश सभाका २० गरी ३७ जना उम्मेदवारको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाएको थियो ।

नेकपा एकीकृत समाजवादी ले तेस्रो लिङ्गी पहिचानमा नागरिकता लिएकी डिलु बुदुजा नाम बन्दसूचीमा राखेको थियो । आयोगले बन्दसूचीबाट नाम हटाउने निर्णयविरुद्ध उक्त पार्टीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।

रिट निवेदनमा गैरकानुनीरूपमा बन्दसूचीबाट उम्मेदवारी हटाउने निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्