काठमाडौं, कार्तिक २६
लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले राजनीतिक स्थायीत्वका साथै संविधानको रक्षाका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताउनुभएको छ । .
शनिबार ललितपुरको सातदोबाटो युथ क्लबको ९औं वार्षिक साधारणसभामा बोल्दै भुसालले संसदलाई पुरा कार्यकाल सञ्चालन गर्न तथा मुलुकको व्यवस्था र संविधानका साथै राजनीतिक स्थायीत्वका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताउनुभएको हो । पाँच बर्ष चल्ने सरकारले मुलुकको आर्थिक बिकासको एजेण्डालाई अघि बढाउनुपर्ने उहाको भनाई छ ।
त्यस्तै उहाले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिन पुनः उम्मेदवारी दिएको बताउनुभयो । ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा सोहि क्षेत्रका ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ की उम्मेदवार डा. तोसिमा कार्कीले मुलुकको बिकास र जनताको सेवाका लागि भन्दै पटक पटक दलहरुको प्रतिवद्धता आएपनि पुरा हुने भने नसकेको बताउनुभयो । उहाले बिभिन्न एजेण्डाका साथै इमान्दारीता आफ्नो नयाँ एजेण्डा भएको बताउनुभयो ।
त्यस्तै ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार अमृत खड्काले आफ्नो भिजन र क्षमतालाई पत्याएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सो पटक टिकट दिएको बताउनुभयो । यो क्षेत्रबाट यसअघि २ पटक नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई पटक पटक मन्त्री बन्नुभएकी पम्फा भुसाल तेस्रो पटक चुनावी प्रतिष्पर्धामा उत्रनु भएको हो ।