काठमाडौं, कार्तिक २५
पत्रकार महिलाले आफूहरुको काम गर्ने शैलीमा निखरता आउन थालेको बताएका छन् । सञ्चारिका समूहले राजधानीमा आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी पत्रकार महिलाहरुले तालिम तथा तीन महिने मेन्टरसिप कार्यक्रमले आफुहरुको लेखन शैलीमा थप सहयोग पुर्याएको बताए ।भक्तपुरकी पत्रकार सिर्जना खड्काले तीन महिनाको अवधिमा आफूले लेख्ने शैली समेत परिवर्तन भएको बताइन् । पत्रकार भएरै काम गरिरहँदा सञ्चारिकाको सो कार्यक्रमले आफूमा उर्जा बढाएको उनको भनाई थियो ।
यस्तै अर्का पत्रकार महिला भावना शर्माले तीन महिनाको अवधिमा आफू निखारिने मौका पाएको बताइन् । उनले वरिष्ठ पत्रकारलाई मेन्टरका रुपमा पाउँदा पत्रकारिताका लागि अपरिहार्य सुक्ष्म विषय पहिचान गर्न सकेको बताइन् । मेनुका श्रेष्ठ, सरिता चौधरी, निर्मला खडायतले पनि तीन महिनाको अवधिमा आफुहरु तिखारिने मौका पाएको धारणा व्यक्त थिए ।
कार्यक्रममा अमेरिकी दुतावासका प्रवक्ता एन्ना रिचे एलेनले पत्रकार महिलाको वृत्ति विकासका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताएकी थिइन् ।
पत्रकार पुरुषको तुलनामा पत्रकार महिलाको अवस्था दयनीय रहेकाले आफूहरुले स्तरोन्नतीका लागि सक्दो पहल गर्ने बताइन् । अमेरिकी दुतावासको सहयोगमा सञ्चारिका समूहले देशभरबाट छानिएका ११ जना महिलालाई तालिम तथा मेन्टरिङ कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी लगायतले पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका आ(आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताएका थिए ।