आचारसंहिता विपरित प्रचारप्रसार गर्नेलाई स्पष्टीकरण सोध्ने क्रम बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ कात्तिक।।भोट हाल्ने दिन नजिकिँदै गर्दा उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् । तर योबीचमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको भन्दै निर्वाचन आयोगले उम्मेदवारलाई स्पष्टीकरण सोध्ने क्रम भने बढेको छ ।

आयोगले हिजो जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरीका विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

यस्तै आयोगले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (२) का उम्मेदवार हुकुमबहादुर बस्नेत तथा प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई स्पष्टिकरण सोधेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्