काठमाडौं , १५ माघ । सरकारले गठन गरेको छानबिन समितिले एनसेलको खरिद बिक्री सम्झौता यथास्थितिमा स्वीकार नगर्न सुझाव दिएको छ ।
पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले दुवै पक्षले शेयर खरिदबिक्री गर्नुपूर्व दूरसञ्चार प्राधिकरणमा निवेदन नदिएको र स्वीकृति पनि नलिएको भन्दै यथास्थितिमा सम्झौता स्वीकार नगर्न सुझाव दिएको हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएपछि छानबिन समितिका संयोजक शर्माले शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न नहुने बताए ।
समितिले सोमबार जारी गरेको विज्ञप्तिमा पनि एनसेल खरिदबिक्रीको सम्झौता शर्तहरु विश्लेषण गर्दा आर्म्स लेन्थ प्रिन्सिपल अनुसार नभएको उल्लेख गरेको छ ।











