उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा प्रधानमन्त्रीकाे जोड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’बारे उपकुलपतिहरुको सम्मेलनलाई शुक्रबार काभे्रपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको भन्दै भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको हो ।

संसारका विश्वविद्यालय शिक्षा अहिले अकल्पनीय खोज अनुसन्धान र नवप्रवर्तनको युगमा प्रवेश गरेको भन्दै उहाँले अन्तरीक्ष विज्ञान, जेनटिक इञ्जिनियरिङ, सूचना–प्रविधि, मानव मनोविज्ञान र योग–ध्यानको लाभबारे प्रयोगशालामा अध्यापन हुन थालेको उल्लेख गर्नुभयो ।

नेपालले विश्वको प्रतिस्पर्धामा आफूलाई परिवर्तन गर्नु जरुरी रहेको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले लाखौँको संख्यामा अध्ययनका लागि विदेशीनुपर्ने अवस्थालाई बदल्न राज्य, विद्वतवर्ग र शैक्षिक संस्थालगायत सबैको साझा जिम्मेवारीकासाथ लाग्नुपर्ने जिकिर गर्नुभयो ।

उहाले बौद्ध शिक्षा, पूर्वीय वास्तुकला र दर्शन आदिजस्ता तुलनात्मक लाभ भएका क्षेत्रमा केन्द्रित गरेर त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नसकेमा मुलुकले ठूलो लाभ लिनसक्ने धारणा पनि राख्नुभयो । विश्वविद्यालयका विभिन्न तहमा कार्यरत नेतृत्वले राजनीति जोडेर गुणस्तरीय शिक्षा दिनका लागि गम्भीर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्