सुर्खेत । कर्णाली मात्र यस्तो प्रदेश हो, जहाँ अहिलेसम्म कुनै ठुला तथा मझौला खालका उद्योग, कलकारखाना छैनन् । अथवा सम्भावनाको प्रदेश मानिए पनि यहाँ लगानीमैत्री वातावरण नभएको भन्दै लगानीकर्ता आउन नमानेको भनिन्छ । तर अहिले भने पश्चिम सुर्खेतमा ठुलो लगानीमा सिमेन्ट उद्योगको काम सुरु भएको छ ।
चौकुने गाउँपालिका—९, को सुनाकाँडा क्षेत्रमा सूर्यतारा सिमेन्ट उद्योगको स्थापना सुरु भएको हो । यहाँ उद्योग निर्माण गर्ने भनेर २०७९ मै तयारी थालिएको थियो । यद्यपि जग्गा खरिद प्रक्रियादेखि खानी क्षेत्रका जनताको मुआब्जा लगायतका प्रक्रियाले केही ढिलाइ भयो । विगत केही महिनादेखि भने उद्योगका लागि आवश्यक संरचना निर्माणको काम धमाधम भइरहेको हो ।
सूर्यताराले उद्योग स्थापना तथा सञ्चालनका लागि सुनाकाँडामा ४२ बिघा जमिन लगेको छ । त्यहाँ अहिले ठुला मेसिनदेखि २०० भन्दा बढी मजदुर संरचना निर्माणका काममा जुटेका छन् । सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि २०७८, चैत्र १८ गते बसेको लगानी बोर्डको ५० औँ बोर्ड बैठकले १४ अर्ब, २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको थियो ।
सूर्यतारा सिमेन्ट कारखानाकाका प्रोजेक्ट हेड संजय मिश्राका अनुसार निर्माणाधीन उद्योग क्षेत्र भन्दा २४ किलोमिटर पूर्व, उत्तरतर्फ पर्ने बराहताल गाउँपालिका—७, को लखरपाटा क्षेत्रमा चुनढुङ्गा खानी छ ।
लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गरिने छ भने सुनकाँडामा लगेर सिमेन्ट उत्पादन गरिने छ ।
‘हाम्रो लक्ष्य अबको १८ महिनामा उद्योग स्थापना गरी सिमेन्ट उत्पादन सुरु गर्ने रहेको छ,’ उनले रातोपाटीसँग भने, ‘यसअघि नै काम भइसक्थ्यो तर, सडक पहुँचको समस्या भयो । यहाँ आएर हामीले २ महिनासम्म बाटो बनायौँ । यहाँको माटो यस्तो छ कि अलिकति पानी पर्नेबित्तिकै कुनै पनि गाडी चल्दैन ।’
सुरुमा साइटसम्म पुग्नका लागि एप्रोच रोड निर्माणमा २ महिना खर्चिएको उनले बताए । ता कि गाडीहरू आवतजावत गर्न सकुन् । उनका अनुसार त्यसपछि मात्र उद्योगको काम सुरु भयो । उद्योग क्षेत्रमा औपचारिक रूपमा काम सुरु भएको अहिले भर्खरै १ महिनाजति भयो । अहिलेसम्म २—३ प्रतिशतजति काम भएको उनको भनाइ छ ।
‘हाम्रो लक्ष्य १८ महिनाको छ, तर यहाँ ठुला मेसिन ल्याउनका लागि सडक छैन, दुई ठाउँमा पुल बन्नुपर्ने छ,’ उनी भन्छन्, ‘प्रदेश र स्थानीय निकायबाट सहयोग त भएको छ, तर यो स्थानको प्रकृतिअनुसार जति सहयोग वा जुन गतिमा सहयोग चाहिन्थ्यो, त्यो अझै आवश्यक छ ।’
अहिले पानी पर्ने बित्तिकै ठुला निर्माण सामग्री वा उपकरण ल्याउन, डण्डी र सिमेन्ट ल्याउन उचित सडक छैन । त्यसैले चिसापानीदेखि यहाँसम्म कुनै पनि सामान ल्याउँदा एउटा एक्स्काभेटर प्रयोग गरेर तान्नुपर्ने वा सहयोग लिनुपर्ने अवस्था रहेको मिश्राले बताए ।
उनका अनुसार एक ठाउँमा त सडकको ग्रेडिङ यस्तो समस्या थियो कि पहिलोपटक ३० टन डण्डी ल्याउँदा उकालो चढाउनै सकिएन । पछाडिबाट एक्स्काभेटरले धकेल्दा पनि त्यो गाडी उक्लिएन, त्यहीँ अनलोड गरेर दुई पटकमा ओसार्नुपर्यो ।
निर्माणाधीन क्षेत्रमा अहिले प्लान्ट, सिमेन्ट उत्पादनका लागि आवश्यक माटो परीक्षण, आवासलगायत संरचना निर्माणका काम भइरहेका छन् ।
बाँकी वनसँग सम्बन्धित केही प्रक्रियाहरू स्वीकृतिको क्रममा रहेको मिश्राले बताए । ‘हामी ती काम समयमै त गरौँला, तर खानीसम्म पुग्नका लागि बाटोमा दुई वटा खोलाहरू पर्छन्, जहाँ पुल नबनेसम्म यो वर्षामा गाडी चलाउनै सकिँदैन,’ उनले भने ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश)ले स्थानीय तहबाट गर्नुपर्ने सबै सहयोग गरिएको बताए । ‘हाम्रा लागि मात्र होइन कर्णाली प्रदेशका लागि नै यो गौरवको आयोजना हो,’ उनले भने, ‘यसको विकासका लागि चौकुने गाउँपालिकाको तर्फबाट सम्पूर्ण सपोर्टहरू हामीले गरिरहेका छौँ ।’
यद्यपि ठुला पुल तथा सडक भने माथिल्लो निकायबाट गरिनुपर्ने उनको भनाइ छ । ‘ती पुल र सडकका लागि प्रदेश र केन्द्रसँग समन्वय भइरहेको छ,’ उनले भने, ‘त्यो पालिकाको क्षमताभन्दा माथिको कुरा भयो ।’
खानीसम्म पुग्ने सडक प्रदेश सरकारले बनाइरहेको छ । गुटुदेखि खम्बागाडेसम्म मदन भण्डारी राजमार्ग छ । खम्बागाडेदेखि लखरपाटासम्म जोड्न ५ करोड १० लाख बराबरको बजेटमा नयाँ सडक बनाउँदै छ, प्रदेश सरकार ।
२०८१ माघबाट काम सुरु भएकोमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । १० किलोमिटरको दुरी रहेको यो सडक बनेपछि सूर्यतारा सिमेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ (लखरपाटाबाट) ढुवानी गर्न सहज हुनेछ ।
सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनमा आएपछि दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजना सम्पन्न भएपछि समग्र कर्णालीमै आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ । उद्योग स्थापना भएपछि एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने आयोजनाले बताएको छ ।
चौकुनेका अध्यक्ष विकले यो आयोजनाले चौकुने र आसपासका नागरिकहरूको आर्थिक वृद्धिमा टेवा पुग्ने बताए । लखरपाटा क्षेत्रमा झन्डै एक शताब्दीका लागि पुग्ने चुनढुङ्गा खानी रहेको अनुमान गरिएको छ ।









